चन्द्रपुर नगरपालिका–४ देउराली चोकमा सशस्त्र प्रहरी बलले विशेष सूचनाको आधारमा अवैध हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।
शनिबार दिउँसो करिब ३ः३० बजे सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त सूचनाका आधारमा सुरक्षा बेस सन्तपुरबाट खटिएको १० जनाको टोलीले मकवानपुर हेटौडा–१३ पदमपोखरीका २२ वर्षीय सुमन आचार्यलाई नियन्त्रणमा लिएको हो ।
शंका लागेर गरिएको चेकजाँचमा आचार्यको झोलाबाट दुईवटा पेस्तोल, गोलाबारुदसहित विभिन्न सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामग्रीसहित उनलाई नेपाल प्रहरीको जिम्मा लगाइएकाे सीमा सुरक्षा बल गौरका प्रमुख रामहरि अधिकारीले जानकारी दिए ।
सशस्त्र प्रहरी उपरीक्षक अधिकारीका अनुसार यी हुन् बरामद सामग्रीहरू :-
- ९ मि.मि. ब्राउनिङ पेस्तोल (CF-98-9), सिरीयल नं. 000169 08236, म्याग्जिन १ थान
- ब्रेटा गारडोनेट भिटी, सिरीयल नं. PX 355230, म्याग्जिन १ थान
- गोलाबारुद १३ थान (पिन्धिमा 31123 उल्लेख)
- ओपो मोबाइल १ थान
- खुकुरी १ थान
- ग्लोबल आईएमई बैंकको भिजा एटीएम कार्ड १ थान
- लाइसेन्स रसिद १ थान
- झोला १ थान
यस सम्बन्धमा थप अनुसन्धान प्रहरीले अघि बढाएको जनाएकाे छ ।