वीरगन्जमा सडकमा आश्रित (सामुदायिक) कुकुरहरूलाई चिसो र शीतलहरबाट जोगाउन अस्थायी घर ‘डग हाउस’को व्यवस्था गरिएको छ ।
वीरगन्ज महानगरपालिका–१० मा वडाध्यक्ष सुशील साह कानुको अग्रसरतामा चिसो र शीतलहरले प्रभावित सडकका कुकुरहरूका लागि वडा नम्बर १० का विभिन्न स्थानमा कुकुर बस्ने घरहरू निर्माण गरी राखिएको हो ।
वडाध्यक्ष कानुका अनुसार शुक्रबार मात्र वडाका पाँच स्थानमा काठका डग हाउस निर्माण गरी त्यसभित्र न्यानोपनका लागि जुटको बोराभित्र पराल भरेर कुकुरहरू बस्ने व्यवस्था मिलाइएको छ । एक हप्ताभित्र वडाका थप १० स्थानमा पनि सडकका कुकुरहरूका लागि डग हाउस राख्ने योजना रहेको उनले बताए ।
यसका लागि दाताहरूबाट सहयोग जुटाउने काम भइरहेको वडाध्यक्ष कानुले जानकारी दिए। उनले भने, “अहिलेको चिसो र शीतलहरले मानिस मात्र होइन, सडकका कुकुरहरू पनि प्रभावित भएको देखेपछि माया लाग्यो । त्यसपछि केही दाताहरूलाई अनुरोध गरेँ, उहाँहरू सहयोग गर्न तयार हुनुभयो ।” उनका अनुसार एउटा डग हाउसमा तीनदेखि पाँच वटा कुकुर बस्न सक्नेछन् ।
यसअघि पनि गत वर्ष पुस महिनामा आएको शीतलहरका बेला वडाध्यक्ष कानुले आफ्नो निजी खर्च तथा विभिन्न दाताहरूको सहयोगमा वडा नम्बर १० का विभिन्न १० स्थानमा सडकका कुकुरहरूका लागि डग हाउस राख्न लगाएका थिए ।
वडाध्यक्ष कानुका अनुसार वडा नम्बर १० मा मात्रै दुई सयभन्दा बढी सडक कुकुर रहेका छन् । सडकका कुकुरहरूको बास व्यवस्थापनका लागि आवश्यक सामग्री दाताहरूबाटै संकलन भइरहेको उल्लेख गर्दै उनले भने, “यसमा वडा कार्यालयको बजेट खर्च गरिएको छैन । मेरो निजी खर्च र मनकारी दाताहरूको सहयोगबाट डग हाउसको व्यवस्था गरिएको हो ।”
सडकका कुकुर पनि मानिसजस्तै संवेदनशील प्राणी भएको उल्लेख गर्दै वडाध्यक्ष कानुले चिसो र शीतलहरका बेला जाडोले उनीहरूको अवस्था दयनीय देखिएकाले गत वर्षदेखि नै न्यानो बासको व्यवस्था गर्ने अभियान सुरु गरिएको बताए ।
यसैबीच, चिसो र शीतलहरले जनजीवनसमेत प्रभावित भएपछि वडा नम्बर १० का विभिन्न स्थानमा गत सातादेखि दाउरा खसालेर आगो ताप्ने व्यवस्थासमेत मिलाइएको वडाध्यक्ष कानुले जानकारी दिए ।