महोत्तरी | आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै महोत्तरीमा तीन हजार ९१२ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी छनोट तथा नियुक्ति समिति, महोत्तरीले आज जारी गरेको निर्वाचन प्रहरी भर्नासम्बन्धी एकीकृत सूचनामा उक्त सङ्ख्यामा निर्वाचन प्रहरी भर्ना गर्न लागिएको जनाइएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा जारी सूचनाअनुसार, स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि–२०८२ (नेपाल प्रहरी–सशस्त्र प्रहरी बल, नेपाल) अनुसार निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।
चार वटा निर्वाचन क्षेत्र रहेको महोत्तरी जिल्लामा आसन्न निर्वाचनका लागि २५८ मतदान स्थल, ५३६ मतदान केन्द्र तथा चार लाख ३१ हजार २८२ मतदाता कायम रहेका छन् । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्थाका लागि निर्वाचन प्रहरी परिचालन गरिने जनाइएको छ ।