२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वाटर बाराले बाराको पचरौता नगरपालिका–१ हरपुरस्थित मुसहर बस्तीका श्री दलित प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।
विपन्न तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै, विद्यालयमा अध्ययनरत १२४ जना बालबालिकालाई कार्यक्रमबीच न्यानो कपडा वितरण गरिएको हो । जाडो मौसममा बालबालिकाले भोग्नुपर्ने कठिनाइलाई मध्यनजर गर्दै उक्त सहयोग प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नं. १२ गण हेडक्वाटर बाराका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले न्यानो कपडा वितरणसँगै बालबालिकालाई खाना पनि खुवाइएको जानकारी दिनुभयो । उनका अनुसार, विद्यालयको भवनमा रङरोगनसमेत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवारले सशस्त्र प्रहरी बलले आफ्नो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरी सराहनीय काम गरेको बताए ।
उनले विद्यालयको सुरक्षाका लागि अगाडि कम्पाउन्ड पर्खाल निर्माण गरिएको जानकारी दिँदै आगामी आर्थिक वर्ष २०८३/८४ मा विद्यालयमा चार कोठे भवन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।
नगर प्रमुख जैसवारले दलित बस्तीका सडक छिट्टै ढलान गरिने जानकारी दिँदै वडा नं. १ मा स्वास्थ्य, शिक्षा, सडक, कृषि लगायतका क्षेत्रमा करिब ८ करोड रुपैयाँ बराबरका विकास कार्य भइरहेको जानकारी दिए ।
कार्यक्रम प्रधानाध्यापक बजरंगी माझीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, वडा अध्यक्ष विनय कुमार सिंह, इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक कृष्णदेव साह, शिक्षक, स्थानीयवासी, अभिभावक र सञ्चारकर्मीहरू उपस्थित थिए ।
कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी नायब निरीक्षक विक्रम पौडेलले गरेका थिए ।
त्यसैगरी, २५औँ सशस्त्र प्रहरी दिवसकै अवसरमा बाराको कलैया उपमहानगरपालिका–१६ स्थित श्री विद्यामन्दिर जोगिन्दर सामुदायिक आधारभूत विद्यालयमा भलिबल, फुटबल र विभिन्न खेलकुद सामग्री वितरण गरिएको पनि सशस्त्र प्रहरी बलले जनाएको छ ।