सल्यानको कालिमाटी गाउँपालिका–६ हात्तिढुंगामा ६५ वर्षीय चन्द्रबहादुर खप्तडी बाघको आक्रमणबाट मृत्यु भएका छन् ।
घरदेखि करिब ३ सय मिटर टाढा घट्टमा पिठो पिस्ने क्रममा उनी घर फर्कन सकेनन् । खोजी गर्ने क्रममा नेपाली सेना, प्रहरी र स्थानीयहरूले उनलाई शान्ति सामुदायिक वनमा मृत अवस्थामा फेला पारे । प्रहरीले जानकारी दिएको अनुसार बाघले उनका दायाँ खुट्टाको आधा भाग खाइसकेको थियो ।
यसअघि कालिमाटी गाउँपालिका–७ पर्सेनी घरकी ४२ वर्षीया धनसरा रावत बाघको आक्रमणमा परेर मृत्यु भएकी थिइन् । प्रहरी र सेनाले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिन नसकेको बताइएको छ ।
कालिमाटी गाउँपालिका–७ का वडा अध्यक्ष मित्रलाल रिजालका अनुसार नरभक्षी बाघले साताको अवधिमा तीन जनाको ज्यान लिइसकेको छ र दुई गोरु समेत मारिसकेको छ । गाउँमा बाघको लगातार आक्रमणले स्थानीयबासीमा सुरक्षा चुनौती उत्पन्न भएको छ ।