आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट जिल्लामा म्यादी प्रहरी (निर्वाचन प्रहरी) को भर्ना प्रक्रिया सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यस वर्ष कुल ३ हजार ८ सय ५१ जना म्यादी प्रहरी भर्ना गरिनेछ । डीएसपी एवं सूचना अधिकारी विष्णु प्रदीप बस्यालका अनुसार नेपाल प्रहरीतर्फ ३ हजार ४ सय ६६ र सशस्त्र प्रहरी बल, नेपालतर्फ ३ सय ८५ जना म्यादी प्रहरी नियुक्त गरिनेछ ।
सबैलाई सहज हुने र भीडभाड नहोस् भन्ने उद्देश्यले आवेदन दिँदै उम्मेदवारले जिल्लाका चार स्थान जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुर — बाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
दरखास्त फाराम माघ १ गतेसम्म, बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बुझाउन सकिनेछ ।
योग्यता र शर्तहरू:
- उमेर: १८–५४ वर्ष
- नेपाली नागरिकता भएको
- सामान्य लेखपढ गर्न सक्ने
- कुनै फौजदारी अभियोगमा सजाय नलिएको
- कुनै राजनीतिक दलको सदस्य नभएको
- शारीरिक र मानसिक रूपमा स्वस्थ
- पुरुषको हकमा न्यूनतम उचाइ ५ फिट, छाती ३१–३३ इन्च, तौल ५० केजी
- महिलाको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च, तौल ४२ केजी, गर्भवती नभएको
पूर्व सुरक्षाकर्मी, निवृत्त नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, वनरक्षक र यसअघि म्यादी प्रहरीको रूपमा काम गरेका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ ।
सम्पर्क र छनोट प्रक्रिया:
- माघ ४ गते सम्पर्क मिति
- माघ ५–९ गतेसम्म छनोट प्रक्रिया
- माघ १२ गते अन्तिम नतिजा प्रकाशित
सेवा अवधि ४० दिनको हुनेछ र प्रतिदिनको पारिश्रमिक नेपाल प्रहरी जवानको प्रारम्भिक तलब स्केल अनुसार उपलब्ध हुनेछ। साथै, खाना, तयारी खर्च र खाजा खर्च पनि प्रदान गरिनेछ । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भने, “यो भर्नाले निर्वाचनको सुरक्षामा सहयोग पुर्याउनेछ र स्थानीय युवाहरूलाई रोजगारको अवसर पनि मिल्नेछ ।”