बंगलादेश र पाकिस्तानबीच १४ वर्षपछि सिधा हवाई सेवा पुनः सुरु भएको छ ।
बिहीबार बंगलादेशको राजधानी ढाकाबाट उडेको एक विमान पाकिस्तानको कराचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
न्यूज एजेन्सी पीटीआई र पाकिस्तानी अखबार डनका अनुसार लामो समयपछि दुबै देशबीच पुनः सिधा हवाई सेवा सञ्चालनमा आएको हो ।
पाकिस्तान विमानस्थल अधिकारीहरूका अनुसार उक्त विमान बंगलादेश एयरलाइन्सको हो। बीजी–३४१ उडान नम्बरको विमान बिहीबार साँझ ढाकाबाट कराची पुगेको थियो ।
विमानस्थल प्रशासनले भनेको छ, “ढाकाबाट आएको यो पहिलो उडान हो, जसले १४ वर्षपछि जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।”
गत वर्ष शेख हसिनाको सत्ता पतनपछि बंगलादेशले पाकिस्तानसँग आफ्नो सम्बन्धलाई नजिक बनाउँदै आएको छ । सिधा हवाई सेवा पुनः सञ्चालन हुनु यसकै संकेतका रूपमा हेरिएको छ ।