भारतको उत्तर प्रदेशस्थित मेरठको चर्चित ‘नीलो ड्रम’ हत्याकाण्डमा मुख्य अभियुक्त मुस्कान रस्तोगी र उनका प्रेमी साहिल शुक्लालाई अदालतले मृत्युदण्ड (फाँसी) को सजाय सुनाएको छ ।
मेरठ जिल्ला अदालतका न्यायाधीश अरविन्द कुमार मिश्रको इजलासले पूर्व मर्चेन्ट नेभी अधिकृत सौरभ राजपूतको हत्या गरेको अभियोगमा दुवै जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो ।
के थियो घटना ?
सन् २०२५ को मार्चमा मेरठ निवासी सौरभ राजपूत अचानक बेपत्ता भएका थिए। प्रहरी अनुसन्धानका क्रममा उनको हत्या गरी शव टुक्राटुक्रा पारेर प्लास्टिकको नीलो ड्रमभित्र राखिएको अवस्थामा घरभित्रै फेला परेको थियो ।
प्रहरी अनुसन्धानअनुसार मुस्कान रस्तोगीले आफ्ना प्रेमी साहिल शुक्लासँग मिलेर श्रीमान् सौरभको हत्या गरेकी थिइन्। सौरभ र मुस्कानले प्रेम विवाह गरेका थिए। पछि मुस्कान साहिलसँग नजिकिएपछि सौरभको हत्या गर्ने षड्यन्त्र रचिएको अनुसन्धानबाट खुलेको थियो ।
१२६ पटक सुनुवाइ, २२ साक्षीको बयान
यस मुद्दामा अदालतमा १२६ पटकभन्दा बढी सुनुवाइ भएको थियो। सुनुवाइका क्रममा २२ जनाभन्दा बढी साक्षीको बयान लिइएको थियो । अदालतले गत सेप्टेम्बर ३० मा मुस्कान र साहिललाई दोषी ठहर गरेको थियो ।
घटनाको प्रकृति र गम्भीरतालाई ध्यानमा राख्दै अदालतले यसलाई ‘दुर्लभभन्दा दुर्लभ’ श्रेणीको अपराध मानेर मृत्युदण्डको फैसला सुनाएको जनाइएको छ ।
अदालतले दुवै अभियुक्तलाई क्रमशः ५० हजार र २० हजार रुपैयाँ जरिवाना पनि तोकेको छ। फैसला सुनाउने क्रममा अदालतले महाभारतको प्रसङ्ग उल्लेख गर्दै अपराधअनुसार सजाय दिनुपर्ने टिप्पणी गरेको विवरणमा उल्लेख छ ।
सौरभ राजपूत हत्याकाण्डको सुनुवाइ सन् २०२५ को जुलाईदेखि सुरु भएको थियो। मेरठ प्रहरीले सन् २०२५ मार्च १९ मा मुस्कान र साहिललाई पक्राउ गरी जेल पठाएको थियो । अदालतको फैसलापछि मृतक सौरभका भाइ राहुलले सुरुदेखि नै आफूहरू न्याय पाउनेमा आशावादी रहेको बताएका छन् ।