गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच बुधबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त भेटवार्ता भएको छ ।
जयशंकर संयुक्त अरब इमिरेट्स (यूएई) जाने क्रममा थिए भने गृहमन्त्री गुरुङ काठमाडौं फर्कने तयारीमा थिए। दुवै मन्त्रीका उडानमा ढिलाइ भएपछि विमानस्थलको भीआईपी कक्षमा उनीहरूबीच कुराकानी भएको हो ।
गृहमन्त्री गुरुङ पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन असोज २६ गते दिल्ली पुगेका थिए। भ्रमणका क्रममा उनले भारतीय गृहमन्त्री अमित शाह, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेलगायतसँग भेटवार्ता गरेका थिए ।
मंगलबार गृहमन्त्री गुरुङले आफ्ना भारतीय समकक्षी अमित शाहसँग भेटवार्ता गर्दै नेपाल–भारतबीचको द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापन सुधार गर्ने र सीमापार अपराध नियन्त्रण गर्ने विषयमा छलफल गरेका थिए ।