पाकिस्तानको उत्तरपश्चिमी सहर पेशावरमा निजी विद्यालयको छत भत्किँदा २७ विद्यार्थीसहित २८ जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।
पाकिस्तानी सञ्चारमाध्यम ‘डन’का अनुसार पेशावरको अफ्रिदी आबाद क्षेत्रमा रहेको अल खैर विद्यालयमा विद्यार्थीहरू कक्षाकोठाभित्र रहेका बेला छत खसेको थियो । छत भत्किँदा विद्यार्थीहरू भग्नावशेषमुनि पुरिएका थिए ।
लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार मृत्यु हुने विद्यार्थीमध्ये १८ जना छात्र र दुई जना छात्रा रहेका छन् । उनीहरू सातदेखि १२ वर्ष उमेर समूहका थिए । दुर्घटनामा एक शिक्षिकाको पनि मृत्यु भएको उनले बताए ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। दुर्घटनापछि अस्पतालमा आपत्काल घोषणा गरिएको थियो । उद्धारकर्मीले भग्नावशेष हटाएर पुरिएकाहरूलाई बाहिर निकाल्ने काम जारी राखेका थिए ।
उद्धार सेवा रेस्क्यु ११२२ का प्रवक्ता बिलाल अहमद फैजीले सुरुमा विद्यार्थी र शिक्षकसहित करिब २० जनालाई अस्पताल पुर्याइएको बताएका थिए ।
पेशावरका उपआयुक्त अफाक वजिरका अनुसार छत खस्दा विद्यार्थीहरू भग्नावशेषमुनि पुरिएका थिए। घटनाको कारण पत्ता लगाउन र उद्धार कार्यको निगरानी गर्न खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्डीले विस्तृत प्रतिवेदन मागेका छन् । उनले घटनाको अनुसन्धान गर्न र घाइतेलाई उचित उपचार उपलब्ध गराउन पनि निर्देशन दिएका छन् ।