वीरगंज महानगरपालिका वडा नम्बर–१० आदर्शनगरस्थित एक ट्रान्सपोर्ट गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि व्यापारीहरूले लखेटि लखेटि कुटपिट गरेका छन् ।
आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने प्रहरीको गाडीको सिसा फुटेको छ । आदर्शनगरस्थित विनोद साह कानु सञ्चालक रहेको सबिता ट्रेडर्सको गोदाममा सोमबार बिहान सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा सशस्त्र प्रहरीको टोली छापा मार्न पुगेको थियो ।
सशस्त्र प्रहरीका अनुसार राजस्व छली भित्र्याइएको सामान गोदाममा भण्डारण गरिएको सूचना प्राप्त भएपछि छापा मारिएको हो । सोही सूचनाका आधारमा दुई वटा गाडीमा सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । गोदाममा खानतलासी प्रक्रिया सुरु गर्न खोज्दा व्यापारीहरूले आफूहरूसँग बिलबिजक रहेको दाबी गर्दै अनावश्यक दुःख दिएको आरोप लगाएपछि विवाद सुरु भएको थियो । त्यसपछि सशस्त्र प्रहरीले गोदामको ताल्चा फुटाउन खोज्दा अवस्था तनावग्रस्त बनेको थियाे ।
विवाद चर्किँदै गएपछि व्यापारीहरूले बाँसका फाटा र ढुंगाले सशस्त्र प्रहरीको टोली तथा उनीहरू सवार गाडीमाथि आक्रमण गरेका थिए । आक्रमणपछि सशस्त्र प्रहरी टोली गाडी लिएर घटनास्थलबाट भागेका थिए । सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल वीरगंज भन्सारका नायब उपरीक्षक विकास अधिकारीले गोदाममा खानतलासीका क्रममा केही समूहबाट आक्रमण भएको बताए ।
“आक्रमणबाट तीन जना सुरक्षाकर्मी घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । भने एउटा गाडीको सिसा फुटेको उनले बताए । गोदामबाट करिब सात लाख रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएका छौँ । घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएकाे छ । उनका अनुसार खानतलासी गरिएको गोदाम रहेको घर मदन गुप्ताको नाममा रहेको छ भने गोदाम सञ्चालकको पहिचान खुल्न सकेकाे छैन् ।
यता आदर्शनगरका ट्रान्सपोर्ट व्यवसायीहरूले भने सशस्त्र प्रहरीले व्यापारीलाई दुःख दिने नियतले पटक–पटक गोदाममा छापा मार्ने गरेको आरोप लगाएका छन् ।