वीरगंज भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। भन्सार कार्यालयको मासिक प्रगति विवरणअनुसार असोज १ गतेदेखि ३१ गतेसम्मको एक महिनाको अवधिमा १०१ प्रतिशत राजस्व असुली भएको छ।
अघिल्लो महिना लक्ष्यको नजिक पुगेको भन्सारले असोजमा तोकिएको लक्ष्य पार गर्दै २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिए।
भन्सार विभागले असोज महिनाका लागि वीरगंज भन्सारलाई २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकेको थियो। राजस्व संकलनमा योगदान पुर्याउने प्रमुख २० वस्तुमध्ये हवाई इन्धन (एटीएफ) पहिलो नम्बरमा छ।
असोज महिनामा ८६४ केएल हवाई इन्धन आयातबाट २ अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। दोस्रो स्थानमा रहेको एलपीजी ग्यास ९७०५.१८ (केजीएम)आयातबाट १ अर्ब ८० करोड रुपैयाँ संकलन भएको छ।
त्यसैगरी, २ लाख ८३ हजार ५ सय ५९ केजी अलकत्रा (बिटुमिन) आयातबाट १ अर्ब ४० करोड रुपैयाँ संकलन भई तेस्रो स्थानमा छ भने चौथो नम्बरमा फलफूल (स्याउ, नास्पति र श्रीफल) परेको छ।
३ लाख ५० हजार ८७४ केजी स्याउ तथा नास्पति आयातबाट ५० करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। चालू आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्म वीरगंज भन्सार कार्यालयको दैनिक औसत राजस्व संकलन ८५ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।
असोज महिनासम्मको कुल वार्षिक लक्ष्य ७० अर्ब ५६ करोड रुपैयाँ रहेकोमा ६९ अर्ब १३ करोड रुपैयाँ अर्थात् ९७.९७ प्रतिशत राजस्व संकलन भइसकेको छ।