वैशाख २०७९ को स्थानीय तह निर्वाचनमा रौतहट को यमुनामाई गाउँपालिका–२ भेडियाही मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेर भागेको दृश्यले सिंगो देशको ध्यान केन्द्रित गरेको थियो । फितलो सुरक्षा व्यवस्था र लापरबाहीका कारण त्यतिबेला मतदान बिथोलिएको थियो । कडा सुरक्षाबीच अर्को दिन मात्र मतदान गराइएको थियो । आगामी प्रतिनिधिसभा निर्वाचनमा उक्त मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ ।
२०७९ को स्थानीय निर्वाचनमै सर्लाही को चक्रघट्टा गाउँपालिका स्थित शिवनगरमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको थियो । प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको थियो । त्यस्तै २०७९ कै प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी को औरही नगरपालिका स्थित श्रीपुर मतदान केन्द्रमा मतदान केन्द्रभित्र अनधिकृत रूपमा प्रवेश र मतदातालाई धम्की दिएको विषयमा दुई पक्षबीच झडप हुँदा केहीबेर मतदान रोकिएको थियो ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा सर्लाही–६ मा मतदान केन्द्र कब्जा प्रयास र झडपका क्रममा गोली चलेको थियो । त्यस क्षेत्रमा नेपाली कांग्रेस का तर्फबाट अमरेशकुमार सिंह, तत्कालीन तमलोपा नेता महन्थ ठाकुर र मधेशी दलका शिवपुजन यादव बीच प्रतिस्पर्धा थियो । बुथ कब्जा प्रयासकै क्रममा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो ।
मधेशमा सुरक्षा चुनौती उच्च : मधेश प्रदेश का आठ जिल्लामा चुनावका बेला विगतदेखि दलहरूबीच झडप, बुथ कब्जा प्रयास र राजनीतिक विवाद हुँदै आएका छन् । यसै आधारमा सुरक्षा निकायले धेरै मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ ।
भारत सँग ३६७ किलोमिटर खुला सिमाना रहेको मधेशका आठ जिल्लामा ४ हजार ४ सय ७१ मतदान केन्द्र र २ हजार १ सय ६० मतदानस्थल छन् । तीमध्ये झन्डै ५८ प्रतिशत अर्थात् १ हजार २ सय ३६ मतदानस्थल अति संवेदनशील मानिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसमा निर्वाचन आयोग ले ७ सय ६३ मतदानस्थललाई संवेदनशील र २ हजार ४ सय ७१ लाई सामान्य वर्गमा राखेको जनाएको छ ।
सबैभन्दा बढी अति संवेदनशील मतदानस्थल सप्तरी मा रहेका छन् । त्यसपछि क्रमशः सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा रहेका छन् ।
शीर्ष नेताबीच प्रतिस्पर्धा, सुरक्षा चिन्ता : यसपालि मधेशमा शीर्ष नेता र नयाँ दलबीच कडा प्रतिस्पर्धा देखिएको छ । सर्लाही–४ मा कांग्रेस सभापति गगनकुमार थापा उम्मेदवार छन् भने त्यही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी का तर्फबाट अमरेशकुमार सिंह प्रतिस्पर्धामा छन् ।
सर्लाही–२ मा नेपाली राष्ट्रिय मुक्ति पार्टी अध्यक्ष राजेन्द्र महतो र नेपाल कम्युनिस्ट पार्टी नेता महेन्द्र राय यादव प्रतिस्पर्धामा छन् । सर्लाही–३ मा नेकपा नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार छन् । सप्तरी–२ मा जनमत पार्टी अध्यक्ष सीके राउत, धनुषा–३ मा कांग्रेस नेता बिमलेन्द्र निधि, महोत्तरी–१ मा नेकपा नेता गिरिराजमणि पोख्रेल र महोत्तरी–२ मा जनता समाजवादी पार्टी नेपाल नेता शरतसिंह भण्डारी उम्मेदवार छन् ।
रौतहट–१ मा नेकपाका सहसंयोजक माधवकुमार नेपाल, रौतहट–३ मा आम जनता पार्टी अध्यक्ष प्रभु साह र बारा–३ मा कांग्रेस नेता फरमुल्लाह मन्सुर उम्मेदवार छन् ।
हतियार, फरार कैदी र खुला सिमाना चुनौती : कांग्रेसका निवर्तमान सांसद तथा रौतहट–४ का उम्मेदवार देवप्रसाद तिमल्सिना ले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार अपराधी प्रयोग गरी निर्वाचन बिथोल्ने प्रयास हुन सक्ने बताएका छन् । हाल सबै निर्वाचन क्षेत्रमा संयुक्त गस्ती बढाइएको छ । अति संवेदनशील स्थानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासका प्रमुख डीआईजी कृष्ण ढकाल ले सीमा क्षेत्रमा कडा जाँच सुरु गरिएको बताए । रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजाल ले फरार कैदी र लुटिएका हतियारले सुरक्षा चुनौती बढाएको बताए ।
निर्वाचनअघि ४८ घण्टादेखि नेपाल–भारत सीमा बन्द गरिने रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल ले जानकारी दिए । पूर्वप्राध्यापक योगेन्द्र राय यादव ले विगतभन्दा फरक सुरक्षा अवस्था देखिएकाले शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन गराउनु चुनौतीपूर्ण रहेको बताए ।