पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा परेको बस माछापुच्छ्रे ट्राभल्सको भएको खुलेको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार हालसम्म दुर्घटनामा परी मृत्यु भएका १८ जनाको शव निकालिएको छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।
मृतक तथा घाइतेहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धार कार्य भइरहेको छ ।
उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरीको कमाण्डमा टोली खटिएको छ । साथै विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली परिचालन गरिएको प्रवक्ता भट्टले जानकारी दिए ।