भारतको झारखण्ड राज्यमा सोमबार साँझ एयर एम्बुलेन्स विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । राँचीबाट बिरामी लिएर दिल्ली उडेको विमान चतरा जिल्लामा दुर्घटनाग्रस्त भएको हो ।
चतरा जिल्लाकी उपआयुक्त कीर्तिश्रीका अनुसार दिल्लीस्थित Redbird Airways प्रालिद्वारा सञ्चालित बीचक्राफ्ट सी–९० (भिटी–एजेभी) विमान दुर्घटनामा परेको हो ।
विमानमा एक बिरामी, उनका सहयोगी, एक चिकित्सक, दुई सहयोगी तथा दुई क्याप्टेन गरी सात जना सवार थिए । दुर्घटनामा सातै जनाको ज्यान गएको भारतीय दैनिक Hindustan Times ले जनाएको छ ।
भारतको Directorate General of Civil Aviation (डीजीसीए) का अनुसार विमान साँझ ७:११ बजे राँचीस्थित Birsa Munda Airport बाट उडेको थियो । उडानपछि कोलकाता एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क स्थापित गरी मौसमका कारण मार्ग परिवर्तन (डिभिएसन) को अनुरोध गरिएको थियो ।
तर साँझ ७:३४ बजे वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्व क्षेत्रमा पुगेपछि कोलकातासँगको सञ्चार तथा रडार सम्पर्क एकाएक विच्छेद भएको बताइएको छ । वाराणसी वा लखनउ एयर ट्राफिक कन्ट्रोलसँग पनि त्यसपछि कुनै सम्पर्क स्थापित हुन सकेन । वाराणसी रडार रिप्ले परीक्षणमा अन्तिम रडार सम्पर्क साँझ ७:२२ बजे देखिएको डीजीसीएले जनाएको छ ।
मृतकको विवरण
मृत्यु हुनेमा ४१ वर्षीय सञ्जय कुमार रहेका छन् । आगलागीको घटनामा उनको शरीर ६३ प्रतिशत जलेर गम्भीर घाइते भएका कारण थप उपचारका लागि एयर एम्बुलेन्समार्फत दिल्ली लैजाँदै गर्दा दुर्घटना भएको जनाइएको छ ।
सञ्जयसँग उनका सहयोगी विकास गुप्ता पनि सवार थिए । चिकित्सक सचिन कुमार मिश्र, उनका दुई सहयोगी अर्चना देवी र धुरु कुमार तथा दुई क्याप्टेन विवेक विकास भगत र सवराजदीप सिंहको पनि ज्यान गएको बताइएको छ ।
प्रारम्भिक अनुमान र अनुसन्धान
राँची विमानस्थलका निर्देशक विनोद कुमारले खराब मौसम दुर्घटनाको सम्भावित कारण हुनसक्ने प्रारम्भिक अनुमान व्यक्त गरे पनि वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्र स्पष्ट हुने बताएका छन् । घटनाको छानबिन प्रक्रिया अघि बढाइएको छ ।
रेडबर्ड एयरवेज सन् २०१८ मा स्थापना भएको कम्पनी हो । यसले सन् २०१९ अगस्टदेखि चार्टर तथा एयर एम्बुलेन्सजस्ता गैर–अनुसूचित उडान सञ्चालनका लागि अनुमति पाएको थियो । कम्पनीले २४सै घण्टा मेडिकल इभ्याकुएसन सेवा प्रदान गर्दै आएको दाबी गरेको छ ।
हालै चार्टर विमान सञ्चालन र नियामक संयन्त्रबारे प्रश्न उठिरहेका बेला यो दुर्घटना भएको हो । यसअघि जनवरी २८ मा महाराष्ट्रको बारामतीमा लियरजेट–४५ दुर्घटनामा पाँच जनाको ज्यान गएपछि स्वतन्त्र छानबिनको माग उठेको थियो । डीजीसीएले गैर–अनुसूचित उडान सञ्चालनकर्तामाथि विशेष अडिट गरिरहेको जनाएको भए पनि ती प्रतिवेदन सार्वजनिक गरिएको छैन ।