जिराभवानी गाउँपालिका–५ हरैयाका स्थानीयवासीले राष्ट्रिय वनबाट अवैध रूपमा कटानी गरी तस्करी हुँदै गरेको ठूलो परिमाणको काठ नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।
बिहीबार साँझ करिब ७:०० बजे तस्करीका लागि ओसारपसार गरिँदै गरेको काठसहित प्र २–०३–००१ त ३८०० नम्बरको ट्याक्टर नियन्त्रणमा लिई प्रहरी चौकी हरैयामा बुझाइएको हो । स्थानीयका अनुसार उक्त ट्याक्टरमा लोपोन्मुख जातका सतिसाल र सिसौ प्रजातिका काठ लोड गरिएको थियो । काठ जिराभवानी गाउँपालिका–३ सहजानपुर क्षेत्रबाट उक्त काठ ल्याइएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएको काठ र ट्याक्टर थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाएको छ ।
वन समूहका अध्यक्ष नै तस्करी गराउदैँ गरेकाे स्थानीयको आरोप
स्थानीय बासिन्दाले गादीमाई साझेदारी वन समूहका अध्यक्ष सहरुम राउत गद्दीको मिलेमतोमा लामो समयदेखि राष्ट्रिय वनबाट अवैध काठ तस्करी हुँदै आएको आरोप लगाएका छन् ।
बिहीबार राति पक्राउ परेको काठ र ट्याक्टर छुटाउन वन समूहका अध्यक्ष प्रहरी चौकी पुगेको स्थानीयले दाबी गरेका छन् । आम नागरिकले वनबाट दाउरा समेत ल्याउन नपाउने अवस्था रहे पनि केही व्यक्तिको संरक्षणमा काठ तस्करी भइरहेको उनीहरूको गुनासो छ।
यस सम्बन्धमा डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले प्रहरीले बरामद गरेको काठ तथा सवारी साधन वन कार्यालयमा बुझाएपछि वन ऐन तथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए । उनले अवैध कटानी तथा तस्करी नियन्त्रणका लागि संयुक्त अनुगमन र गस्तीमा थप कडा गरिने बताए । पर्सा जिल्लाको सीमावर्ती क्षेत्र भएकाले वनजन्य पदार्थको अवैध कटानी तथा तस्करी चुनौतीपूर्ण बन्दै गएको सुरक्षा स्रोत बताउँछन् ।
स्थानीयको सक्रियताले अवैध काठ नियन्त्रणमा सहयोग पुगेको भन्दै सरोकारवाला निकायले सतर्कता आवश्यक रहेको बताएका छन् ।
यता पर्सा प्रहरीले घटनाबारे थप अनुसन्धान गरि रहेको जनाएको छ ।