नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले जेनजी आन्दोलनका क्रममा जबरजस्ती करणी मुद्दा तथा सरकारी कागजछाप र दस्तखत कीर्ते अभियोगमा फरार रहेका दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरीका ३० वर्षीय नुमेश वाइबा र खोटाङ बराहपोखरीका ४१ वर्षीय नवराज लुइँटेल रहेका छन् ।
ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार वाइबालाई जबरजस्ती करणी मुद्दामा तथा लुइँटेललाई सरकारी कागजछाप र दस्तखत कीर्ते गरेको अभियोगमा पक्राउ गरिएको हो ।पक्राउ परेका वाइबा जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका थिए भने लुइँटेल जिल्ला अदालत काठमाडौंबाट फरार भएका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार वाइबालाई स्वयम्भु क्षेत्रबाट र लुइँटेललाई वसुन्धरा क्षेत्रबाट पक्राउ गरिएको हो ।
(रासस)