सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद्–उल–फित्रका अवसरमा चैत ७ गते शनिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार २०८२ साल चैत ७ गते शनिवारका दिन ईद् परेको जानकारी आएकाले सो दिन सार्वजनिक बिदा हुने स्पष्ट पारेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा वि.सं. २०८१ फागुन १५ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नै उक्त बिदाको व्यवस्था गरिएको उल्लेख छ ।
मन्त्रालयले ईद् पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।
मुस्लिम समुदायले चन्द्रमा हेरेर मनाउने यो महत्वपूर्ण पर्वका अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।