कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको र नागरिकको दैनिकी सहज बनाउन आवश्यक देखिएकाले निषेधाज्ञा हटाइएको जनाएको हो । जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकको निर्णयअनुसार बिहानैदेखि निषेधाज्ञा हटाइएको प्रशासनले जनाएको छ । यसअघि चैत ७ गतेदेखि विभिन्न संवेदनशील क्षेत्र तोकेर निषेधाज्ञा लागू गरिएको थियो।
निषेधाज्ञा हटेसँगै महाराजगञ्ज क्षेत्रको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। स्थानीय बजार, यातायात र दैनिक गतिविधिहरू पुनः सञ्चालनमा आउन थालेका छन् ।
प्रशासनले शान्ति सुरक्षाको अवस्था थप सुदृढ बनाउन सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिएको छ ।