पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्त ले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष सिर्सिया नदी प्रदूषण, क्यासिनोमा नेपालीको प्रवेश, किसानका लागि मलखाद अभाव तथा महानगरको अवैध असुली लगायतका गम्भीर विषय उठाएका छन् ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेस प्रदेशका सांसदहरूसँग भएको भेटघाटका क्रममा सांसद पन्तले पर्सा क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित समस्याहरूबारे ध्यानाकर्षण गराएका हुन् ।
भेटका क्रममा उनले सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रणका लागि अधिकार सम्पन्न समिति गठन गरी समयसीमा तोकेर समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका थिए । यसका साथै, किसानलाई आवश्यक समयमा पर्याप्त मात्रामा मलखाद उपलब्ध गराउनु सरकारको प्रमुख दायित्व भएको उनले बताए ।
त्यसैगरी, वीरगंजका अधिकांश क्यासिनोहरूले नेपाली नागरिकलाई अवैध रूपमा प्रवेश गराई आर्थिक शोषण गरिरहेको आरोप लगाउँदै उनले यसतर्फ प्रहरी प्रशासन मौन बसेको बताएका थिए ।
सांसद पन्तले वीरगंज महानगरपालिकाले विभिन्न स्थानमा ढाट राखी अवैध रूपमा असुली गरिरहेको विषय पनि उठाउँदै, यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीच जिम्मेवारी पन्छाउने प्रवृत्ति रहेको गुनासो प्रधानमन्त्रीसमक्ष राखेका थिए ।
सबै विषय सुनेपछि प्रधानमन्त्री शाहले तत्कालै प्रहरी महानिरीक्षक र गृह सचिवलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाएका छन् । उनले जनप्रतिनिधिले उठाएका जायज मागप्रति जिल्ला प्रशासन र सुरक्षा निकाय संवेदनशील हुनुपर्ने समेत बताएका थिए ।
उक्त भेटघाटमा श्रम मन्त्री दिपक साह प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह तथा मधेस प्रदेशका अन्य सांसदहरूको समेत उपस्थिति रहेको थियो ।