साउदी अरेबियाको रियादस्थित हुस्सेन बिन अली अतिफा कम्पनीमा काम गर्दै आएका नेपालीहरू समस्यामा परेका छन् । काठमाडौंको गौशालामा रहेको नेपाल लाइफ रिक्रुटमेन्ट लगायतका विभिन्न म्यानपावर कम्पनीमार्फत करिब दुई वर्षअघि साउदी गएका ५० भन्दा बढी नेपालीले उद्धारको माग गरेका हुन् ।
पीडितहरूले बताएअनुसार कम्पनीले ५–६ महिनादेखि तलब नदिएको, खाना, बसाइ र पानी समेत नदिएको छ । कम्पनीले काम गर्ने–नआउने आधारमा तलब घटाउने, छुट्टीमा पठाएर रकम काट्ने, र प्रतिव्यक्ति भिन्न–भिन्न तलब दिने गरेको छ । मासिक १५०० रियालको तलबमा धेरैलाई ४००–६०० रियाल मात्र दिइएको छ ।
उनीहरूले कम्पनीले ‘फ्री भिसा’ भन्छ तर स्वयं २ लाख २५ हजार रुपैयाँ तिरेर साउदी पुगेको बताए । ओभरटाइमको पैसा नदिने, यात्रा दूरी लामो, र बस्ने व्यवस्था असुविधाजनक रहेको पनि उनीहरूले जनाएका छन् ।
पीडितहरूले नेपालस्थित म्यानपावर, स्थानीय एजेन्ट र दूतावासमा गुनासो गरे पनि सुनुवाइ नभएको बताउँदै भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नु परेको बताएका छन् । तर भिडियो सार्वजनिक गरेपछि कम्पनीले अझ दबाब दिएको उनीहरूको भनाइ छ ।
अहिले काममा नलगाइएकाले तलब समेत नपाएको र घर पठाइदिन आग्रह गर्दा २ वर्ष कार्यकाल पूरा गर्नुपर्ने धम्की दिइएको पीडितहरूले बताए । खाना नदिने, बिरामी हुँदा उपचार नपाउने, शौचालयसम्म पहुँच नपाउने अवस्था रहेको छ ।
पीडितहरूको एक अर्का नेपालीले भने, “यहाँ आउनुको अर्थ बालबच्चा पढाउन, घर परिवारको जीवनस्तर सुधार गर्न हो तर यहाँ आउँदा विपरीत भएको छ । काम, तलब र सेवा सुविधा खोज्दा उल्टै धम्की र कारबाही हुन्छ ।”