समुदायमा देखिन सक्ने अनपेक्षित जनस्वास्थ्य जोखिमलाई समयमै पहिचान गरी नियन्त्रण गर्ने उद्देश्यले वीरगंज महानगरपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाअन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा तथा PHRD Nepal र UNICEF को प्राविधिक तथा आर्थिक सहयोगमा वडा नं. ५ कुम्हालटोलस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा अनपेक्षित जनस्वास्थ्य घटना तथा रोगका लक्षणहरू देखिँदा त्यसको समयमै सूचना प्रवाह गर्नु अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिइयो । आम नागरिक, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा तथा जनप्रतिनिधिहरूको सक्रिय भूमिका बिना यस्तो प्रणाली प्रभावकारी नहुने जानकारी सहभागीहरूलाई गराइएको थियो ।
सहभागीहरूलाई टोल तथा समाजमा कुनै असामान्य स्वास्थ्य समस्या वा रोगका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा फोन, एसएमएस वा प्रत्यक्ष जानकारी गराउन आग्रह गरिएको थियो । साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित निःशुल्क हटलाइन सेवा ‘हेल्लो स्वास्थ्य १११५’ मा समेत जानकारी दिन सकिने बताइएको छ ।
कार्यक्रमका प्रशिक्षक राजिव चौधरी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र कुम्हालटोल–५ का राज कुमार मण्डलले अनपेक्षित जनस्वास्थ्य घटना के हो, किन समयमै सूचना आवश्यक हुन्छ र कस्ता लक्षण देखिएमा खबर गर्नुपर्ने भन्ने विषयमा विस्तृत जानकारी दिएका थिए ।
उनीहरूले समुदाय स्तरमै रोगको प्रारम्भिक पहिचान र सूचना संकलनले महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सबैको सक्रिय सहभागितामार्फत मात्र स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउन सकिने बताएका छन् ।