वीरगंजको व्यस्त घन्टाघर चोक क्षेत्रमा ट्राफिक प्रहरीले मापसे ( मादक पदार्थ सेवन ) जाँच अभियानलाई तीव्र पारेको छ ।
सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्रभावकारी बनाउन लक्षित उक्त अभियान अन्तर्गत चेकिङ गरिएको हो ।ट्राफिक प्रहरी कार्यालय वीरगंजका अनुसार घन्टाघर चोक, आदर्शनगर क्षेत्र तथा मुख्य सडक खण्डहरूमा सवारी साधन रोक्दै चालकहरूको ब्रिथ एनालाइजर (अल्कोहल परीक्षण ) उपकरणमार्फत मापसे जाँच गरिएको थियो ।
जाँचका क्रममा शंकास्पद रूपमा सवारी चलाइरहेका चालकहरूको सास परीक्षण गरी मदिरा सेवनको अवस्था पुष्टि गरिएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार मदिरा सेवन गरेर सवारी चलाउनु सडक दुर्घटनाको प्रमुख कारणमध्ये एक भएकाले यसलाई नियन्त्रण गर्न अभियानलाई निरन्तर र अझ कडाइका साथ सञ्चालन गरिने जनाएको छ। साथै, रातिको समयमा पनि सवारी दुर्घटना बढी हुने भएकाले विशेष निगरानी राखिएको समेत जानकारी दिएको छ ।
अभियानका क्रममा मापसे सेवन गरी सवारी चलाइएको भेटिएमा चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरूलाई ट्राफिक नियमअनुसार जरिवाना तथा सचेतनामूलक कक्षा समेत दिइएको बताइएको छ ।
ट्राफिक प्रहरीले सवारी चालकहरूलाई मदिरा सेवन गरी सवारी नचलाउन, हेल्मेट र सिट बेल्टको अनिवार्य प्रयोग गर्न तथा लेन अनुशासन पालना गर्न आग्रह गरेको छ ।
स्थानीयवासीहरूले पनि बढ्दै गएको ट्राफिक जाम र दुर्घटनाको जोखिम कम गर्न यस्ता अभियान प्रभावकारी हुने प्रतिक्रिया दिएका छन् । प्रहरीले आगामी दिनमा अन्य मुख्य चोक तथा राजमार्ग क्षेत्रमा समेत मापसे जाँचलाई विस्तार गरिने जनाएको छ ।