वीरगंज महानगरपालिका–१६ स्थित मुख्य भन्सार कार्यालयअगाडि मुख्य सडकको पश्चिमतर्फ ५० लाख रुपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको सार्वजनिक शौचालय तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ ।
निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि शौचालय सञ्चालनमा नआएपछि महानगरपालिकाको व्यवस्थापन र सार्वजनिक बजेटको सदुपयोगमाथि प्रश्न उठेको छ । सार्वजनिक प्रयोजनका लागि निर्माण गरिएको उक्त शौचालय सञ्चालनमा नआउँदा सर्वसाधारण, यात्रु तथा भन्सार क्षेत्रमा आवतजावत गर्ने व्यक्तिहरू सार्वजनिक शौचालयको सुविधाबाट वञ्चित भएका छन् ।
स्थानीयस्तरमा निर्माण सम्पन्न संरचनालाई सञ्चालनमा ल्याउन नसकेको भन्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र वडा नम्बर १६ का अध्यक्ष पशुराम कुमार चौरसियाको कार्यशैलीमाथि प्रश्न उठाइएको छ । सार्वजनिक बजेट खर्च गरेर संरचना निर्माण गर्नु मात्रै पर्याप्त नभई त्यसबाट नागरिकलाई सेवा उपलब्ध गराउनु पनि जनप्रतिनिधि र सम्बन्धित निकायको जिम्मेवारी भएको स्थानीयको भनाइ छ ।
सार्वजनिक शौचालयजस्तो अत्यावश्यक पूर्वाधार तीन वर्षसम्म प्रयोगविहीन रहनुले यसको सञ्चालन, व्यवस्थापन, सरसफाइ र कर्मचारीको प्रबन्धबारे चासो बढाएको छ । निर्माणमा ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको भनिए पनि शौचालय सञ्चालनमा नआउनुको कारणबारे सम्बन्धित निकायबाट स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।
स्थानीयले शौचालयको अवस्था तत्काल निरीक्षण गरी आवश्यक व्यवस्थापन मिलाएर सञ्चालनमा ल्याउन माग गरेका छन् । उनीहरूले सार्वजनिक बजेटबाट निर्माण गरिएका संरचना प्रयोगविहीन राख्नुको सट्टा नागरिकलाई प्रत्यक्ष सेवा दिने गरी उपयोगमा ल्याउनुपर्ने बताएका छन् ।
जनताको करबाट निर्माण भएका सार्वजनिक संरचनाको प्रभावकारी उपयोग सुनिश्चित गर्नु सम्बन्धित निकायको दायित्व हो । त्यसैले वीरगंज महानगरपालिकाले शौचालय सञ्चालनमा आउन नसक्नुको कारण स्पष्ट पार्दै आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ ।