जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित पर्साका नेताहरूलाई सम्मान गरिएको छ ।
जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षता तथा पार्टीका राष्ट्रिय उपाध्यक्ष माधव सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका अगुवा तथा पार्टीका केन्द्रीय, जिल्ला र स्थानीय तहका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, जनता समाजवादी पार्टी (जसपा) नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव तथा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्यहरू रम्भा मिश्र, विनय यादव, अनिता रौनियार, मालती कुशवाहा र राजुराज गिरीलगायतको उपस्थिति थियो ।
त्यसैगरी, जिल्ला उपाध्यक्षद्वय नागेन्द्र गुप्ता र जमिला खातुन, जिल्ला सचिव फुलेना कुशवाहा, सहसचिव सत्जुग साहसहित विभिन्न वडा तथा पालिका तहका नेता–कार्यकर्ताहरू कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीहरूले बडादसैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै सामाजिक सद्भाव, भाइचारा, एकता र सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए । विभिन्न समुदायबीच आपसी सम्मान र सहअस्तित्व कायम राख्दै चाडपर्वलाई सामाजिक सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा मनाउनुपर्ने उनीहरूको भनाइ थियो ।
यसै अवसरमा पार्टीको दोस्रो महाधिवेशनबाट केन्द्रीय पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित पर्साका नेताहरूलाई सम्मान गरिएको थियो । सम्मानले पार्टीको संगठनात्मक एकता मजबुत बनाउनुका साथै नेता–कार्यकर्तामा थप उत्साह जगाउने विश्वास व्यक्त गरिएको थियो ।
कार्यक्रममा नेताहरूले मधेशको अधिकार, पहिचान, सामाजिक न्याय तथा आर्थिक–सामाजिक रूपान्तरणका सवालमा एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
आयोजकका अनुसार कार्यक्रमले विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य क्षेत्रका अगुवा तथा जनमत पार्टीका नेता–कार्यकर्ताबीच आपसी सम्बन्ध, सद्भाव र सहकार्य थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)