राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको निर्धारित विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट वितरण गरिने बताएका छन् ।
शुक्रबार राति वीरगञ्जस्थित क्लासिक बैंक्वेटमा आयोजित बडादसैँको शुभकामना आदानप्रदान तथा टीका कार्यक्रममा बोल्दै पन्तले नातेदार, आफन्त वा पार्टीका नेताहरूसँगको निकटताका आधारमा कसैले पनि टिकट नपाउने स्पष्ट पारे ।
पार्टीको ‘हामी आउँदैछौँ’ अभियानबारे चर्चा गर्दै उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्न उम्मेदवार क्लब, पोलिटिकल प्रोक्सिमिटी, प्रारम्भिक निर्वाचन र समावेशिताको अवधारणा अघि सारिएको जानकारी दिए। यस प्रक्रियाबाट प्रशिक्षित, परीक्षित र योग्य व्यक्तिहरूले मात्रै पार्टीको आधिकारिक उम्मेदवार बन्ने अवसर पाउने उनको भनाइ थियो ।
“कोही जिल्ला सभापतिको नजिक भएकै आधारमा, प्रदेश सभापतिसँग निकट सम्बन्ध भएकै कारण वा कुनै माननीयको नातेदार भएकै भरमा टिकट पाउने अवस्था हुँदैन,” पन्तले भने, “त्यसैले योग्य व्यक्तिहरूले विचलित हुनुपर्ने अवस्था छैन ।”
उनले पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र विधिसम्मत बनाइने उल्लेख गर्दै संगठनमा सक्रिय तथा सक्षम व्यक्तिहरूले निर्धारित प्रक्रियाअनुसार अवसर पाउने बताए ।
पन्तको भनाइले आगामी स्थानीय तह निर्वाचनमा व्यक्तिगत सम्बन्धभन्दा योग्यता, निर्धारित प्रक्रिया र समावेशितालाई प्राथमिकता दिएर उम्मेदवार छनोट गर्ने रास्वपाको तयारीलाई संकेत गरेको छ ।