बराहक्षेत्र नगरपालिका–६ क्षेत्रबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय विशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठ रहेका छन् । प्रहरी उपरीक्षक केशव थेबेले दिएको जानकारी अनुसार गोप्य सूचनाका आधारमा कारबाही गरिएको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नदी आसपास क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बाँसको झाक मुनि लुकाइछिपाइ राखिएको अवस्थामा नौ वटा प्लास्टिकका बोरामा २२५ केजी गाँजा बरामद गरिएको छ । साथै को ३० प ९४७५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।
दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।