मोतिहारी | भारतको मोतिहारीस्थित साइबर प्रहरीले हवाला कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ । भारत–नेपाल सीमावर्ती घोडासहन क्षेत्रमा छापा मार्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
छापामारीका क्रममा ५६ लाख ७१ हजार भारतीय रुपैयाँ तथा १३ लाख ६७ हजार नेपाली रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
साइबर डीएसपी अभिनव पारासर का अनुसार पक्राउ परेकाहरूले मल्टिपल बैंक खातामार्फत सीमावर्ती क्षेत्रमा अवैध रूपमा मुद्रा ओसारपसार गर्ने तथा विदेश पठाउने गतिविधि सञ्चालन गर्दै आएका थिए । स्थानीय प्रहरीको सहयोगमा साइबर टोलीले विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूको मोबाइलमा Binance एप प्रयोग भएको फेला परेको छ । उक्त एपमार्फत करिब ६ मिलियन Tether (USDT) अर्थात् करिब ५० करोड भारतीय रुपैयाँ बराबरको कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।
डीएसपी पारासरले भने, “गिरफ्तार व्यक्तिहरूको मोबाइल परीक्षण गर्दा बाइनान्स एपमा ६ मिलियन USDT बराबरको कारोबार देखिएको छ। हवाला र क्रिप्टोबीचको सम्बन्धबारे थप अनुसन्धान भइरहेको छ ।”
प्रहरीले छापामारीका क्रममा नगद गन्ने मेसिन तथा मोबाइल फोनहरू समेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको साइबर प्रहरीले जानकारी दिएको छ ।