वीरगञ्जका किङ्स क्यासिनो, फर्चुन सिटी गेमिङ क्लब र क्यासिनो माजोङ क्यासिनो तथा गेमिङ क्लबमा अनधिकृत प्रवेश गरी शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले पाँच भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार विशेष सूचनाको आधारमा शनिबार राति गरिएको संयुक्त कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव, ओमप्रकाश यादव तथा वीरगञ्ज महानगरपालिका–३२ निवासी जमुदिन मियाँ अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त टोलीले वीरगञ्जस्थित किङ्स क्यासिनो, फर्चुन सिटी गेमिङ क्लब तथा क्यासिनो माजोङमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूका साथबाट नगद रकम, दुई थान मोबाइल तथा केही शङ्कास्पद कागजात समेत बरामद गरेको प्रहरीले जनाएकाे छ । बरामद सामग्रीको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार ती व्यक्तिहरूले क्यासिनोभित्र जुवातास खेलिरहेको तथा केही शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचना प्राप्त भएपछि निगरानी बढाइएको थियो ।
त्यसपछि छापामारीमा उनीहरू पक्राउ परेका हुन् । प्रवक्ता बस्नेतका अनुसार पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिँदै उनीहरूको नेपाल प्रवेशको उद्देश्य, बसाइ तथा आर्थिक कारोबारबारे समेत अनुसन्धान भइरहेको बताए । खुला सीमा भएका कारण पछिल्लो समय सीमावर्ती शहर वीरगञ्जमा भारतीय नागरिकहरूको आवतजावत बढ्दै गएको छ ।
यससँगै अवैध कारोबार, जुवातास तथा शङ्कास्पद गतिविधि नियन्त्रणका लागि प्रहरीले निगरानी कडा बनाएको जनाएको छ ।