वीरगंज मा ट्रान्सफर्मर जडान गर्ने क्रममा भएको विस्फोटमा एक मजदूर गम्भीर घाइते भएका छन् ।
बहुदरमाई नगरपालिका–३ निवासी ४५ वर्षीय चनरजीत राउत अहिर दुर्घटनामा परेर घाइते भएका हुन् । प्राप्त जानकारी अनुसार उनी वीरगंज–२३ स्थित सनतारा इलेक्ट्रिक प्रालि मा कार्यरत थिए । उनी जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित एभरेस्ट छाला कम्पनी मा ट्रान्सफर्मर जडान गर्ने काम गरिरहेका बेला अचानक विस्फोट भएको थियो । विस्फोटपछि उनको शरीरका विभिन्न भाग जलेको बताइएको छ ।
घाइते राउतलाई तत्काल उपचारका लागि वीर अस्पताल मा भर्ना गरिएको छ । चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको छ । परिवारका अनुसार राउतको आर्थिक अवस्था कमजोर रहेकाले उपचार खर्च जुटाउन समस्या भइरहेको छ । उनीहरूले सनतारा इलेक्ट्रिक प्रालि र एभरेस्ट छाला कम्पनीका सञ्चालकहरूले उपचार खर्चको जिम्मेवारी लिन अस्वीकार गरेको आरोप लगाएका छन् ।
घटनापछि पीडित परिवारले उचित क्षतिपूर्ति तथा उपचार सहयोगको माग गरेको छ । साथै, घटनाबारे सम्बन्धित निकायबाट छानबिन हुनुपर्ने मागसमेत उठेको छ ।