यस वर्षाको समयमा कसैले पनि सडकपेटीमा कष्टकर जीवनयापन गर्न नपरोस् भन्ने करुणामय भावनाका साथ ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरिएको छ । यही वैशाख २७ गतेदेखि जेठ २२ गतेसम्म सञ्चालन हुने यस अभियानको आज मेची पुलबाट औपचारिक शुभारम्भ गरिएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य कबिन्द्र बुर्लाकोटी ले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धारमा मानव सेवा आश्रम ले राज्यलाई पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यस्तो मानवीय अभियानमा राज्यका तीनै तहका सरकारको सक्रिय सहयोग आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।
त्यसैगरी काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले महानगरले सडकमा आश्रयविहीन जीवन बिताइरहेका व्यक्तिहरूको व्यवस्थापनका लागि मानव सेवा आश्रमसँग सहकार्य गर्दै आएको र आगामी दिनमा यसलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ ले समाजसेवाभन्दा ठूलो पुण्य कार्य अरू नभएको उल्लेख गर्दै सबैलाई मानव कल्याणमा सक्रिय हुन आग्रह गर्नुभयो । त्यस्तै गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा ले मानव सेवा आश्रमको सेवाभावले आफूलाई समाजसेवामा लाग्न प्रेरित गरेको बताउँदै यस कार्यलाई जीवनपर्यन्त आत्मसन्तुष्टि दिने पुण्य कार्यको रूपमा व्याख्या गर्नुभयो ।
मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी ले नेपालमा कोही पनि अनाथ भएर सडकमा बस्न नपरोस् भन्ने उद्देश्यसहित मानवता, करुणा, सेवा र सद्भावना मजबुत बनाउने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा तेस्रो पटक यो अभियान सञ्चालन गरिएको पनि बताउनुभयो ।
यस अभियानमा गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको नेतृत्वमा २६ जना स्वयंसेवक सहभागी छन् । उनीहरूले परिवार वा आफन्तको सहारा नपाएका सडक आश्रित नागरिकहरूको उद्धार गरी देशका विभिन्न जिल्लामा रहेका आश्रमहरूमा पुनःस्थापना गर्नेछन् ।