वीरगंज महानगरपालिका क्षेत्रमा पछिल्ला केही दिनयता यौन व्यवसाय (देह व्यापार) बढ्दै गएको पाइएको छ ।
होटल, कटेज, रक्सी पसल तथा निजी घरमार्फत समेत यौन व्यवसाय सञ्चालन भइरहेको सूचना प्रहरीले छापा मार्ने क्रममा सार्वजनिक भएको हो । यसै क्रममा बुधबार साँझ वीरगंज महानगरपालिका–११ स्थित कृषि औजार कारखाना पछाडि झाँझी टोलमा वकिल मियाँ अन्सारीको घरमा यौन व्यवसाय सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको छ । सो क्रममा दुई पुरुष र तीन महिलासहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको टोलीले घरधनी अन्सारीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, वीरगंज नयाँ बसपार्क क्षेत्रमा होटल व्यवसायी र महिला यौनकर्मीबीच विवाद भएको सूचनापछि वडा प्रहरी कार्यालय बिर्ताले पनि एक पुरुष र तीन महिलालाई नियन्त्रणमा लिएको छ । सो घटनाबारे समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यसैबीच, स्थानीय होटल व्यवसायी रविन्द्र मिश्रले प्रहरीको कमजोर अनुगमन र मिलेमतोका कारण होटल तथा कटेजहरूमा यौन व्यवसाय बढ्दै गएको आरोप लगाएका छन् । उनका अनुसार यस्ता स्थानमा विवाद र झडपका घटना दिनहुँजसो देखिन थालेका छन् ।