जनकपुरधाम । मधेस प्रदेशमा अत्यधिक गर्मी बढेसँगै सर्पदंशका घटनामा उल्लेखनीय वृद्धि हुन थालेको छ । खेतबारी तथा बस्ती आसपास सर्पको गतिविधि बढ्दै जाँदा सर्वसाधारण दैनिक रूपमा सर्पदंशको जोखिममा परिरहेका छन् ।
प्रदेशका विभिन्न जिल्लामा केही दिनयता अत्यधिक गर्मीका कारण विषालु तथा विषरहित दुवै प्रजातिका सर्पहरू देखिन थालेका छन् । यससँगै अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या पनि बढ्दै गएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
प्रादेशिक अस्पताल सिराहाका प्रमुख डाक्टर सुनिलप्रसाद कुशवाहाका अनुसार चैत महिनामा १५ जना, वैशाखमा २६ जना र जेठमा २५ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल पुगेका थिए । उनीहरू उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो समय दैनिक दुईदेखि तीन जना सर्पदंशका बिरामी अस्पताल आउने गरेको उनले बताए ।
त्यसैगरी, जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा चैत महिनामा १०० जना, वैशाखमा १२० जना र जेठमा १४७ जना सर्पदंशका बिरामी उपचारका लागि पुगेका छन् । अस्पतालको इमर्जेन्सी विभागका इन्चार्ज उज्वलकुमार झाले अन्य अस्पतालबाट रिफर भएर समेत बिरामी आउने गरेको जानकारी दिए ।
“सर्पदंशका बिरामीका लागि आवश्यक एन्टीभेनम पर्याप्त मात्रामा उपलब्ध छ । पछिल्ला तीन–चार महिनामा सर्पदंशका कारण कसैको मृत्यु भएको छैन,” उनले भने ।
झाका अनुसार मधेस प्रदेशमा विषरहित ढोडिया र हरहरा तथा विषालु करेत र गोमन प्रजातिका सर्प बढी पाइन्छन् ।
.jpg)
यता महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा पनि सर्पदंशका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । अस्पताल प्रमुख डाक्टर रवि श्रीवास्तवका अनुसार वैशाख महिनामा २३ जना सर्पदंशका बिरामी उपचारका लागि पुगेका थिए भने जेठमा यो सङ्ख्या बढेर ५६ पुगेको छ ।
महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामा गर्मी यामसँगै सर्पदंशको जोखिम बढेको उनले बताए । सीमावर्ती भारतीय क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ ।
अस्पतालमा एन्टीभेनम पर्याप्त मात्रामा उपलब्ध रहेकाले उपचारमा समस्या नभएको जनाइए पनि आइसीयू कक्षको अभावका कारण विषालु सर्पले डसेका जटिल बिरामीलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्था रहेको छ ।
सर्पदंशका घटना बढ्न थालेपछि प्रदेश स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले झारफुक वा घरेलु उपचारमा विश्वास नगरी सर्पले टोकेपछि तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न अनुरोध गरेको छ ।
सर्प विज्ञ देवनारायण मण्डलका अनुसार मधेस प्रदेशमा ३६ प्रकारका सर्प पाइन्छन्, जसमध्ये पाँच प्रकारका मात्रै विषालु छन् । सर्पदंशबाट बच्न घर, गोठ तथा बारी–झारी सफा राख्नुपर्ने, सर्प देखिएमा उद्धार केन्द्रलाई खबर गर्नुपर्ने तथा सर्पले टोकेपछि तत्काल अस्पताल पुगेर उपचार गराउनुपर्ने उनको सुझाव छ ।
.jpg)
.jpg)
.jpg)
भिडियाे सामाग्री