सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको ठूलो परिमाणको स्याउसहित एक इ–रिक्सा नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलका अनुसार नियमित चेकजाँचका क्रममा नम्बर प्लेट नभएको इ–रिक्सामा विभिन्न किसिमका स्याउ कार्टुनमा प्याक गरी भारततर्फ लैजाँदै गरिएको अवस्थामा फेला परेको थियो । त्यसपछि उक्त इ–रिक्सा र स्याउ नियन्त्रणमा लिइएको हो ।
पछिल्लो समय नेपाल–भारत सीमावर्ती क्षेत्रमा फलफूल तथा अन्य सामग्रीको अवैध निकासी बढ्दै गएको गुनासो आइरहेका बेला सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी तथा चेकजाँचलाई थप कडा बनाएको छ ।
सोही अभियानअन्तर्गत स्याउ बोकेको इ–रिक्सा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद स्याउ तथा इ–रिक्सालाई आवश्यक अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको बताइएको छ ।