पर्सामा सशस्त्र प्रहरी बल नेपालले प्रतिबन्धित लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । साथै, छुट्टै कारबाहीका क्रममा करिब ५ लाख रुपैयाँ बराबरका अवैध औषधिजन्य सामग्री पनि बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका अनुसार असार २२ गते राति करिब १०ः३० बजे नं. १३ गण मुख्यालय तथा सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सा जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध बरामद गरेको हो ।
जाँचका क्रममा एक भारतीय महिलाले दुवै तिघ्रामा टेपले बाँधेर लुकाएको अवस्थामा डाइजेपाम २०० एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड २०० एम्पुल र बुप्रेनोर्फिन २०० एम्पुल गरी कुल ६०० एम्पुल प्रतिबन्धित लागूऔषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
घटनामा संलग्न उक्त महिलासहित साथमा रहेका अन्य दुई जनालाई ई–रिक्सासहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
यसैबीच, असार २३ गते बिहान करिब ४ः३० बजे वीरगंज महानगरपालिका–१ छपकैया सीमा क्षेत्रमा बीओपी सिर्सियाबाट खटिएको गाडी मोबाइल टोलीले गस्ती गर्ने क्रममा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याइँदै गरेका औषधिजन्य सामग्री बरामद गरेको छ ।
मोबाइल टोलीलाई देख्नासाथ दुई जना व्यक्तिले बोकेको सामान छाडेर फरार भएका थिए । घटनास्थलबाट करिब ५ लाख रुपैयाँ बराबरका चार कार्टुन भिटामिनलगायत विभिन्न औषधिजन्य सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद औषधिजन्य सामग्री आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।