रौतहट | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवसहित चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा समनपुरघाटको बालुवा, गिट्टी तथा ग्राभेल उत्खननसम्बन्धी ठेक्कामा २ करोड ५७ लाख ६२ हजार रुपैयाँ सरकारी राजस्व हिनामिना गरेको अभियोगमा मङ्गलबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।
अख्तियारका अनुसार गढीमाई नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि समनपुर नाकाबाट नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीको ठेक्का ३ करोड २५ लाख रुपैयाँमा भाग्यामणी कन्स्ट्रक्सन प्रालिलाई दिने निर्णय गरेको थियो । ठेक्का सम्झौताअनुसार कम्पनीलाई सात दिनभित्र सम्झौता रकम बुझाउन पत्राचार गरिए पनि कम्पनीले तोकिएको समयमै रकम दाखिला नगरेको अनुसन्धानबाट खुलेको छ ।
तर, नगरपालिकाका पदाधिकारीहरूले ठेक्काका सर्त र कानुनी व्यवस्था विपरीत कम्पनीले एक करोड रुपैयाँ दाखिला गरिसकेको भन्ने झुटो विवरणसहितको टिप्पणी तयार गरी सदर गरेको अख्तियारको आरोप छ । सोही आधारमा कम्पनीलाई एक महिनाका लागि अस्थायी रूपमा नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिइएको थियो ।
अनुसन्धानका क्रममा उक्त अवधिमा कम्पनीले ५४ हजार ३ सय ५५ घनमिटर बालुवा, गिट्टी तथा ग्राभेल उत्खनन गरी ३ करोड ३२ लाख ६९ हजार रुपैयाँभन्दा बढीको आर्थिक लाभ लिएको पाइएको आयोगले जनाएको छ ।
अख्तियारका अनुसार ठेक्का सम्झौताबमोजिम बुझाउनुपर्ने बाँकी रकम तथा मूल्य अभिवृद्धि कर (भ्याट) समेत गरी कुल २ करोड ५७ लाख ६२ हजार रुपैयाँ नगरपालिकालाई नबुझाई सरकारी राजस्वमा ठूलो नोक्सानी पुर्याइएको छ ।
यस प्रकरणमा गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर तथा तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर रायलाई मुख्य प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध जनही २ करोड ५७ लाख ६२ हजार रुपैयाँ बिगो कायम गरी सोहीअनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको छ ।
यस्तै, भाग्यामणी कन्स्ट्रक्सन प्रालिका तर्फबाट मुख्य कार्य गर्ने राधेश्याम साहलाई भ्रष्टाचारमा मतियार बनेको अभियोगमा प्रतिवादी बनाउँदै सोही बराबरको बिगो, कैद तथा जरिवानाको माग गरिएको अख्तियारले जनाएको छ ।