सिरहा | सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा पछिल्लो तीन दिनमा ३४ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वाटर सिरहाका प्रमुख सुमन जंग थापाका अनुसार असार १८ देखि २० गतेसम्म सञ्चालन गरिएको नियमित गस्ती तथा निगरानीका क्रममा भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ अवैध रूपमा ओसारपसार हुँदै गरेका सामान नियन्त्रणमा लिइएको हो ।
प्रमुख थापाका अनुसार सोमबार मात्रै जिल्लाको सीमावर्ती क्षेत्रबाट भन्सार छली गरी ल्याइँदै तथा लैजाँदै गरिएका करिब १४ लाख ३ हजार ३२६ रुपैयाँ बराबरका कस्मेटिक सामग्री, मदिरा, इलेक्ट्रोनिक सामान, डिजेल तथा अन्य सामग्री बरामद गरिएको छ ।
यस्तै, असार १९ गते ११ लाख १० हजार ४२५ रुपैयाँ र असार १८ गते ९ लाख २६ हजार ८५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएका सबै सामग्री आवश्यक कानुनी कारबाहीका लागि माडरस्थित खैरटोका भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा नियमित गस्ती, निगरानी तथा चेकजाँचलाई प्रभावकारी बनाइएकाले भन्सार छलीका गतिविधि नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भइरहेको छ। सीमाबाट हुने अवैध आयात–निर्यात नियन्त्रणका लागि आगामी दिनमा समेत सुरक्षा निगरानीलाई थप कडाइ गरिने जनाएको छ ।