कोल्हबी सब–डिभिजन वन कार्यालयका प्रमुख कृष्णकुमार पटेलको नेतृत्वमा खटिएको टोलीले एक घरबाट चार थान सालका गोलिया काठ बरामद गरेको हो ।
बरामद काठको परिमाण करिब २० क्युफिट रहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । डिभिजनल वन अधिकृत सुजितकुमार झाले दिउँसो करिब २ बजेदेखि सञ्चालन गरिएको खोजतलासका क्रममा घरभित्र लुकाएर राखिएको अवस्थामा उक्त काठ फेला परेको जानकारी दिए । उनका अनुसार काठसँग सम्बन्धित व्यक्ति घटनास्थलमा उपस्थित नरहेकाले तत्काल पक्राउ गर्न नसकिएको र उनीहरूको खोजी तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।
अनुगमनका क्रममा केही स्थानीयले वन कार्यालयको टोलीसँग सामान्य विवाद तथा धकेलाधकेलको प्रयास गरे पनि अवस्था नियन्त्रणबाहिर नगेको कार्यालयले जनाएको छ । घटनामा कुनै मानवीय क्षति वा अप्रिय अवस्था सिर्जना भएको छैन । बरामद गरिएको काठ हाल डिभिजन वन कार्यालयको नियन्त्रणमा राखिएको छ। अभियानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत सहयोग रहेको थियो ।
वन कार्यालयले अवैध काठ तस्करी, वन पैदावारको गैरकानुनी ओसारपसार तथा भण्डारणविरुद्ध यस्ता लक्षित अनुगमन तथा विशेष अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाएको छ ।