अविरल वर्षासँगै आएको बाढी तथा डुबानका कारण मधेशकाे बारा, पर्सा, राैतहट र सप्तरीका गरी २ हजार बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको तथा रोपाइँका लागि तयारी अवस्थामा रहेको धानखेतीमा क्षति पुगेको छ ।
निरन्तर परेको वर्षाले खोलानाला र नहरमा पानीको बहाव बढ्नुका साथै विभिन्न स्थानमा तटबन्ध कटान भएपछि धानबाली प्रभावित भएको हो।
उता सप्तरीकाे सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालका अनुसार टेंगरा खोलामा पानीको सतह बढ्दा वडा नं. २ र ४ मा करिब ५० बिघा क्षेत्रफलको धानको बीउबाली तथा रोपाइँका लागि तयारी अवस्थामा रहेको खेतमा क्षति पुगेको छ ।
कञ्चनरूप नगरपालिका–९ को रोघनाथपुर क्षेत्रमा सुनेरी खोलाको बाढीले करिब ३० बिघा धानको बीउबाली डुबानमा परेको वडा अध्यक्ष रामसुन्दर यादवले जानकारी दिए । बोदेबरसाइन नगरपालिकाका प्रमुख आतेशसिंह यादवका अनुसार पानी निकासको उचित व्यवस्था नहुँदा वडा नं. १, ३, ४, ५ र ७ मा करिब ३५ बिघा क्षेत्रफलको धानखेती प्रभावित भएको छ ।
सबैभन्दा बढी क्षति छिन्नमस्ता गाउँपालिकामा भएको छ। गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार वडा नं. २, ३, ४, ५ र ६ मा पानी निकासको समस्या उत्पन्न हुँदा करिब ८०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीका अनुसार वडा नं. ८ मा करिब १०० बिघा क्षेत्रफलमा रोपाइँका लागि तयारी अवस्थामा रहेको खेत डुबानमा परेको छ । साथै वडा नं. ११ मा वर्षाका कारण क्षतिग्रस्त सडकको तत्काल मर्मतसम्भार गरिएको उनले बताए ।
त्यसैगरी, राजविराज नगरपालिका–११ मा कोशी पम्प नहरको तटबन्ध कटान भएपछि करिब १०० बिघा क्षेत्रफलको धानखेती प्रभावित भएको स्थानीय किसान सचिदानन्द यादवले बताए ।
जिल्लाका विभिन्न स्थानमा डुबान र तटबन्ध कटानका कारण कृषि उत्पादनमा गम्भीर असर पर्ने देखिएको छ। निरन्तर वर्षा जारी रहे थप क्षेत्रफलमा क्षति बढ्न सक्ने भन्दै स्थानीय तहहरूले जोखिमयुक्त क्षेत्रको अनुगमनलाई तीव्र बनाएका छन् ।
मुख्य खाद्यान्न बाली धानमै क्षति पुगेपछि किसानहरू चिन्तित बनेका छन्। उनीहरूले डुबानको निकास, तटबन्ध मर्मत, क्षतिको यथार्थ विवरण सङ्कलन तथा राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।