नेपालमा खेतीपातीको समयमा रासायनिक मलको अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट मल खरिद गरेर फर्कने क्रममा सर्लाहीका दुई किसान दाजुभाइ विगत २० दिनदेखि भारतीय जेलमा थुनिएका छन् ।
बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहलाई भारतीय सुरक्षा निकायले मल तस्करीको आरोपमा पक्राउ गरी जेल चलान गरेको हो । विगतका वर्षमा यही समयमा साढे २ बिघा खेतमा रोपाइँ सम्पन्न गरिसक्ने किसान दाजुभाइ यस वर्ष भने भारतीय कारागारमा बस्न बाध्य भएका छन् । उनीहरूको खेतसमेत बाँझै रहेको परिवारले जनाएको छ ।
सरकारले समयमै रासायनिक मल उपलब्ध गराउन नसकेपछि मलको जोहो गर्न उनीहरू गत असार १७ गते सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका थिए । साइकलमा दुई बोरा युरिया र ६ बोरा डीएपी मल राखेर नेपाल फर्कने क्रममा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेलगत्तै सोनवर्षा प्रहरी चौकीमा राखिएका उनीहरूलाई हाल सीतामढी जिल्लाको डुमरास्थित कारागारमा पठाइएको छ । तर, मुद्दाको थप सुनुवाइ हुन नसक्दा उनीहरूको रिहाइ अन्योलमा परेको छ ।
थुनामा रहेका नागेन्द्रका ज्वाइँ प्रवीन सिंहका अनुसार डुमरास्थित स्थानीय अदालतले गत असार २५ गते सोनवर्षा प्रहरीले घटनासम्बन्धी विवरणसहितका कागजात मगाएको थियो । तर, हालसम्म उनीहरूको धरौटीमा रिहाइ हुन सकेको छैन ।
“अदालतका न्यायाधीश बिदामा हुनुभएकाले अदालती प्रक्रियामा ढिलाइ भइरहेको छ । तर, हामीले प्रयास छाडेका छैनौँ,” प्रवीन सिंहले भने । पारिवारिक स्रोतका अनुसार घटनासम्बन्धी कागजात अदालतसम्म पुगे पनि जटिल कानुनी प्रक्रियाका कारण दाजुभाइको रिहाइमा ढिलाइ भइरहेको छ ।
यस विषयमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले सिंह दाजुभाइ पक्राउ परेको घटनाबारे गृह मन्त्रालयलाई औपचारिक रूपमा जानकारी गराइसकिएको बताएका छन् ।
आफ्नै खेती प्रयोजनका लागि सीमित मात्रामा मल ल्याउँदा नेपाली किसान भारतीय जेलमा पर्नुपरेको भन्दै स्थानीय स्तरमा उनीहरूको शीघ्र रिहाइका लागि नेपाल सरकारले कूटनीतिक तथा सरकारी तहबाट पहल गर्नुपर्ने माग उठेको छ ।