रौतहटको गुजरा नगरपालिका–३ धनसार सिमरी गेट नजिक सशस्त्र प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। कटहरीया–३ निवासी कमोदा राम चमार र नेमलाल साह बनियालाई अवैध हतियार र गोलीसहित मोटरसाइकलमा चेकजाँच गर्दा पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका उपरीक्षक बिक्रम हुमागाईंका अनुसार ज४प ९०५८ नम्बरको मोटरसाइकलमा सवार यी दुई व्यक्तिलाई शंका लागेपछि चेकजाँच गर्दा कटुवा पेस्तोल र तीन राउण्ड गोली बरामद भएको थियो।
उनीहरूलाई पक्राउ गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयको इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल ११ नम्बर गणको संयुक्त टोली संलग्न थियो। यस टोलीले संदिग्ध गतिविधि बारेमा जानकारी पाएपछि तत्कालै निगरानी गरी दुवै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका कमोदा राम चमार र नेमलाल साह बनियालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, गौर, रौतहटमा बुझाइएको उपरीक्षक हुमागाईंले जानकारी दिएका छन्।
यस घटनाले जिल्लामा अवैध हतियारको प्रयोग र सुरक्षा व्यवस्थाबारे थप चासो र सतर्कता बढाएको छ।