वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगद सहित चार जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोमबार साँझ करिब ६:३० बजे आदर्शनगरमा प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकी खानतलासी गर्दा उनीहरूको साथबाट उक्त रकम बरामद गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्ला डुमरा थाना–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह र २६ वर्षीय सागरकुमार सर्राफ तथा पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन् ।
प्रहरीका अनुसार उपेन्द्रको साथबाट १८ लाख १६ हजार, सागरकुमारको साथबाट १८ लाख ३४ हजार, राहुलकुमारको साथबाट १६ लाख रुपैयाँ र सुरजको साथबाट १ लाख रूपैयाँ बरामद भएको हो ।
बरामद रकममा १ हजार दरका ४ हजार ५ थान, ५ सय दरका २ हजार ३ सय ५३ थान, १ सय दरका ६ सय ४३ थान र ५० दरका ८४ थान नेपाली नोट रहेका छन् ।
बरामद नगद तथा दुवै मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले बताएका छन् ।