रौतहटको मौलापुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको घटनाको अनुसन्धानका क्रममा वडाध्यक्षसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरी र सोही स्थानका २८ वर्षीय त्रिकिशोर कुशवाहा रहेका छन् । प्रहरीका अनुसार गत वर्ष असार ६ गते दिउँसो करिब १ः४० बजे मौलापुर नगरपालिका–३ स्थित विद्युत् कार्यालयनजिकै मौलापुर–जयनगर सडकखण्डमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
वडाध्यक्ष महेश महतो कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा त्रिकिशोर कुशवाहाले चलाएको मोटरसाइकलको पछाडि सवार २० वर्षीय नीरज कुशवाहा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा २०८२ माघ १७ गते बिहान १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनासम्बन्धी सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले २०८३ साउन २५ गते दुवै मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।