महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प (चापाकल) खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत प्रक्रिया अपनाइएको पाइएको छ । एउटै प्रकृतिका सामानको खरिदलाई पटक–पटक टुक्र्याएर खरिद गरिएको, लागत अनुमानमा १५ प्रतिशत कन्ट्राक्टर ओभरहेड थप गरिएको तथा प्रतिस्पर्धालाई सीमित गरिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।
आपूर्तिकर्तासँगको मिलेमतोमा बोलपत्रमार्फत गर्नुपर्ने खरिद सिलबन्दी दरभाउपत्र तथा सोझै खरिदबाट गरिएको र यसबाट स्थानीय तह तथा नेपाल सरकारलाई आर्थिक हानि पुर्याइएको आयोगको आरोप छ । खरिद गरिएका सामग्रीको दोहोरो भरपाई तयार गरिएको तथा वितरणको विश्वसनीय प्रमाणसमेत पेस गर्न नसकिएको आयोगले जनाएको छ ।
आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीविरुद्ध ३६ लाख १३ हजार ३१ रुपैयाँ, इन्जिनियर सन्तोषकुमार यादव र सब–इन्जिनियर बिपिनकुमार मण्डलविरुद्ध जनही २० लाख ४९ हजार ४५० रुपैयाँ बिगो कायम गरेको छ । त्यस्तै, तत्कालीन लेखापाल विजयकुमार यादव र योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध जनही ३६ लाख १३ हजार ३१ रुपैयाँ तथा जिन्सी शाखा प्रमुख शिवशंकर यादवविरुद्ध १५ लाख ६३ हजार ५८१ रुपैयाँ बिगो कायम गरिएको छ ।
आपूर्तिकर्तातर्फ लिला आयरन स्टोर्सका प्रोप्राइटर बिनयकुमार यादव, डि.एम. जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर दुधनाथ कुमर, श्रीराम इन्टरप्राइजेजका प्रोप्राइटर अमरनाथ कुमर, जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स)का प्रोप्राइटर रामबाबु चौधरी तथा क्वालिटी सोलुसन कम्पनीका प्रबन्ध निर्देशक मनोजकुमार यादवविरुद्ध समेत विभिन्न रकम बिगो कायम गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
आयोगले अनुसन्धानबाट भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर भएको निष्कर्ष निकाल्दै उनीहरूविरुद्ध कानुनी कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।