किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज पठाएर कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ बजारस्थित दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया मल रात्रिबसमार्फत वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।किसानका लागि तोकिएको कोटाअनुसार जिल्लामै बिक्री गर्नुपर्ने मल अन्यत्र पठाएको आरोपमा पर्साको छिपहरमाई गाउँपालिका–६ का दिनेश पण्डितकुमार तथा बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्य पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरूले किसानका लागि अनुदानमा उपलब्ध गराइएको मल तोकिएको क्षेत्रबाहिर पठाएर कालोबजारी गरेको आरोप छ ।
पक्राउ परेकामाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन बमोजिम अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।