काठमाडौं । चालु आर्थिक वर्ष २०८३र८४ पहिलो महिना नेपालमा करिब पौने २ अर्ब रुपैयाँ बराबरको धानचामल आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार साउनमा १ अर्ब ७८ करोड ८ लाख २९ हजार बराबरको २४ हजार ९ सय ३९ टन (२ करोड ४९ लाख ३९ हजार ३ सय ६६ किलो) धान तथा चामल आयात भएको हो ।
गत आवको तुलनामा यो वर्ष धानचामल आयातमा गिरावट आएको छ । गत आव २०८२र८३ साउनमा नेपालले २ अर्ब ९२ करोड ८३ लाख ६२ हजार बराबरको ५७ हजार ८३ टन धानचामल आयात गरेको थियो ।
तथ्यांक विश्लेषण गर्दा गत आवको तुलनामा चालु आव पहिलो महिना आयातित परिमाण र बाहिरिएको रकम दुवैमा गिरावट आएको छ ।
चालु आव साउनमा आयात भएका विभिन्न प्रकारका धान तथा चामलको विस्तृत विवरण हेर्दा सबैभन्दा बढी रकम चामल खरिदमा बाहिरिएको छ । यस अवधिमा ८३ करोड ३३ लाख २४ हजार रुपैयाँ बराबरको ११ हजार ८ सय ५२ टन चामल आयात भएको छ ।
यसमध्ये करिब सम्पूर्ण हिस्सा अर्थात् ११ हजार ८ सय ५१ टन छिमेकी भारतबाट भित्रिएको छ भने नगन्य मात्रामा ९शून्य दशमलव २४ टन अर्थात् २ सय ४० किलो० इटालीबाट आएको छ ।
धेरै आयात हुने दोस्रो सूचीमा बासमती चामल छ । साउनमा मात्रै ५६ करोड ८५ लाख ९१ हजार बराबरको ४ हजार १ सय २५ टन बासमती चामल भित्रिएको छ, जुन पूर्णरूपमा भारतबाट मात्रै खरिद गरिएको हो ।
तयारी चामल बाहेक नेपालमा नकुटेको धान आयात पनि उल्लेख्य मात्रामा हुने गरेको छ । चालु आव पहिलो महिना ३६ करोड ५० लाख १७ हजार बराबरको ८ हजार ६ सय २८ टन धान आयात भएको छ । यो धान शतप्रतिशत भारतबाटै ल्याइएको हो ।
यसैगरी चामलको कनिका आयातमा पनि करोडौं रकम बाहिरिएको छ । साउनमा मात्रै भारतबाट १ करोड ३३ लाख ७ हजार बराबरको ३ सय ३२ टन कनिका भित्रिएको छ ।
ठूलो परिमाणमा आउने धान, चामल र कनिका बाहेक निकै कम परिमाणमा ब्राउन राइस र धानको बिउ आयात भएको भन्सार तथ्यांकले देखाउँछ ।
साउन महिनामा ८९ हजार रुपैयाँको ६ सय २५ किलो ब्राउन राइस आयात भएको छ । यसमध्ये ५ सय किलो थाइल्यान्ड र १ सय २५ किलो भारतबाट आएको छ ।
यसका साथै, चालु आव पहिलो महिना ५ लाख १ हजार रुपैयाँ बराबरको ६७ किलो धानको बिउसमेत आयात भएको छ । धानको बिउ भारतभन्दा बढी चीनबाट ल्याइएको छ ।
चीनबाट ४ लाख ९९ हजार रुपैयाँको ४७ किलो धानको बिउ भित्रिँदा भारतबाट भने जम्मा २ हजार रुपैयाँको २० किलोमात्र बिउ आयात भएको तथ्यांकमा उल्लेख छ ।