सर्लाही । ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार बर्दिवासबाट खटिएको टोलीले ढकाल र चौधरीलाई ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
आयोगका अनुसार ढकाल र चौधरीको आपसी मिलेमतो तथा योजनामा १३ वटा डिप बोरिङ तथा मोटर जडानका लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरिएको देखाइएको थियो । तर ती उपभोक्ता समिति कागजमा देखाउनका लागि मात्र गठन गरिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ ।
उपभोक्ता समितिले पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया तथा आवश्यक कागजातहरू उनीहरूले आफैँ तयार पारेको, जल उपभोक्ता समितिको छाप तथा अध्यक्षको हस्ताक्षरसमेत आफैँ गरी वा गराई भुक्तानी दिएको अख्तियारले जनाएको छ ।
यस्तो कामबापत सेवाग्राहीसँग ७ लाख ५० हजार रुपैयाँ घुस माग गरी लिएको पुष्टि भएको आयोगको दाबी छ ।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहर गर्दै जनही ७ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको छ ।
आयोगले सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।