बाँकेस्थित नेपाल–भारत नाकाको नेपालगन्ज रोडबाट भारतका प्रमुख धार्मिक सहर अयोध्या, गोरखपुर र बनारससम्म सिधा ब्रोडगेज रेल सेवा सञ्चालनमा आएको छ ।
सोमबारदेखि सुरु भएको उक्त रेल सेवाले नेपाल र भारतबीच धार्मिक पर्यटकको आवागमन सहज बनाउनुका साथै व्यापार तथा व्यवसाय विस्तारका लागि समेत नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । रेल सेवाको उद्घाटन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले संयुक्त रूपमा गर्नुभएको हो ।
लामो समयको प्रतीक्षापछि सञ्चालनमा आएको रेल सेवाले नेपालबाट अयोध्या, गोरखपुर र बनारस जाने नेपाली तीर्थयात्री तथा ती क्षेत्रबाट नेपालगन्जको बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्वारी र कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीलाई सहज हुने पर्यटन प्रवर्द्धन मञ्च, बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार रेल सेवामार्फत भारतबाट ठूलो संख्यामा धार्मिक पर्यटक नेपाल भित्र्याउन सकिनेछ भने भारतका विभिन्न तीर्थस्थलमा जाने नेपाली नागरिकलाई समेत सहज हुनेछ ।
संयोजक श्रेष्ठले भन्नुभयो, “अब पश्चिम नेपालका नेपालीका लागि अयोध्याको राम मन्दिर, गोरखपुरको गोरखनाथ मन्दिर र बनारसको विश्वनाथ मन्दिर पुग्न सहज भएको छ । त्यसैगरी, भारतका धार्मिक पर्यटकलाई पनि नेपालका धार्मिकस्थलमा आउन निकै सहज भएको छ ।”
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज नजिकैबाट ब्रोडगेज रेल सेवा सुरु हुनु यस क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले रेल सेवाबाट सबैभन्दा पहिले नेपालगन्जले प्रत्यक्ष लाभ लिने उल्लेख गर्दै धार्मिक पर्यटनसँगै व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।