रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसीटीभी क्यामरा जडान गरिएको छ ।
सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन क्यामरा जडान गरिएको हो ।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा जडान गरिएको क्यामराबाट टिमुरे–रसुवागढी क्षेत्रमा नदीको बहाव, पानीको अवस्था तथा बाढीसम्बन्धी गतिविधि प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिनेछ ।
क्यामराको माध्यमबाट नदीको अवस्थाबारे नियमित निगरानी गर्न सकिने भएकाले सम्भावित बाढीको जोखिम पहिचान तथा पूर्वसूचना प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले सीमावर्ती क्षेत्रका बासिन्दा तथा सम्बन्धित निकायलाई विपद्को जोखिम न्यूनीकरण र आवश्यक तयारी गर्नसमेत सहज बनाउनेछ ।