काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्को समयमा सरकार जनताको उद्धार, राहत र सुरक्षाका कामबाट पछि हट्न नमिल्ने बताएका छन्। उनले देश सङ्कटमा रहेका बेला थकानलाई कारण बनाएर विश्राम गर्ने अवस्था नरहेको स्पष्ट पारे।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपत्तिको घडीमा नेतृत्वले निराशा र आँसु होइन, नागरिकमा साहस, भरोसा र आत्मविश्वास जगाउनुपर्ने बताए। व्यक्तिगत पीडा र भावनात्मक कठिनाइ भए पनि अहिले एक–आपसमा दुःख व्यक्त गरेर बस्ने समय नभएको उनको भनाइ छ।
उनले दृढ इच्छाशक्ति र साहसका साथ विपत्तिको सामना गर्नु सरकारको जिम्मेवारी भएको बताए। प्रधानमन्त्री शाहले भने, ‘यस्तो अवस्थामा लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन। हामी लडिरहेका छौँ।’
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको स्मरण गर्दै उनले घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गरे। बाढीका कारण आफ्ना आफन्त गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री शाहले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
अझै आफन्तको अवस्था अज्ञात रहेकाले उनीहरूको प्रतीक्षामा रहेका परिवारको पीडा पनि आफूले गम्भीर रूपमा महसुस गरेको प्रधानमन्त्री शाहले बताए। उनले भोटेकोशी बाढीबाट भएको क्षति कुनै एक जिल्लाको मात्र समस्या नभई सिङ्गो देशको साझा पीडा भएको उल्लेख गरे।
‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, सिङ्गो नेपालको साझा पीडा हो,’ प्रधानमन्त्री शाहले भने।
उनले बाढी प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहतका लागि सरकारले गरिरहेका विभिन्न प्रयासबारे प्रतिनिधिसभालाई जानकारी गराउँदै विपद् व्यवस्थापनका कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।